मुख्य कार्यक्रम तथा क्रियाकलापहरु

  • ख्यातिप्राप्त विषय विज्ञ, प्राज्ञ एवं लामो समय अनुभव हासिल गरेका उच्च प्रशासकहरुका दुई अध्ययन समुह यही आर्थीक बर्ष भित्र गठन गर्ने र एक अध्ययन समुहलाई २ बर्षभित्र गुरु योजना तर्जुमा गर्ने कार्यमा संलग्न गराइने र अर्को समुहलाई एक बर्षभित्र सुरक्षण मुद्रण केन्द्रको संगठनात्मक ढाँचा र आवश्यक जनशक्तीको स्वरुप निर्धारण गर्ने कार्यमा संलग्न गराइनेछ ।
  • सुरक्षण मुद्रण केन्द्रको हाता एक विशेष क्षेत्रमा रहने गरी सुरक्षण मुद्रण ग्राम (SPC- Village) नामकरण द्वारा विकास गरिनेछ । यसका लागी कम्तीमा १५ हेक्टर जग्गा र आवश्यक बजेट उपलब्ध गराउन सम्बन्धित सरकारी निकायमा आवश्यक पहल गरिनेछ ।
  • यस आर्थिक बर्ष भित्र सुरक्षण मुद्रणका सम्बन्धी मेशीन तथा उपकरण खरिदका लागी उपयूक्त प्रविधिकहरुको सहयोगमा बोलपत्र कागजात तयार गरी प्रचलित नियमनुसार खरिद प्रकृया अगाडि बढाइनेछ ।
  • सुरक्षण मुद्रण केन्द्रको, कार्य प्रकृति, भूमिका तथा आवश्यकताका बारेमा परिचयात्मक पुस्तिका तथा वेभसाईट कन्टेन्ट अभिलेखिकरण गरी वितरण गरिनेछ । हरेक क्षेत्रका जनतालाई सुरक्षण मुद्रण सम्बन्धी आवश्यक जानकारी दिन मुलुकका प्रमुख शहरहरुमा उद्देश्यमुलक कार्यशाला गोष्ठि तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिनेछ ।
  • सुरक्षण मुद्रणले गर्ने कार्यका सम्बन्धमा बुलेटिन, समाचार सामाग्री, सन्देशमुलक प्रचार सामाग्री, रेडियो, टेलिभिजन तथा समाचारपत्रबाट प्रकाशन एवं प्रसारण गरिनेछ ।
  • आवश्यक सेवा संचालन ऐन २०१३ मा भएको कानूनी व्यवस्थालाई थप परिमार्जन गरी सुरक्षण मुद्रणलाई खानेपानी, विद्युत जस्तै आवश्यक सेवाका रुपमा संचालन गरिनेछ ।
  • नेपाल सरकारको उपयूक्त प्रकृया द्वारा सुरक्षण मुद्रणको विकास सम्बन्धी सबै कार्यक्रमहरुलाई राष्ट्रिय गौरवका योजना सरह उच्च प्राथमिकता दिइने व्यवस्था मिलाइने छ ।
  • सुरक्षण मुद्रणका कर्मचारीलाई शीपयुक्त, उत्पादनशील एवं नैतिकवान बनाउनका निमित्त कार्यसम्पादन केन्द्रित तालिम कार्यक्रम तथा गोष्ठिहरु घनीभुत रुपमा संचालन गरिनेछ ।
  • सुरक्षण मुद्रण केन्द्रका कर्मचारीहरुलाई शीपयूक्त र सेवा प्रति समर्पित बनाउन केन्द्र र अन्तराष्ट्रिय ख्याति प्राप्त (एक वा दुई) सुरक्षण मुद्रण कम्पनी सँग आवश्यक समझदारीका आधारमा Apprenticeship कार्यक्रम संचालन गरिनेछ ।

अपेक्षित प्रतिफल

  • सुरक्षण मुद्रण केन्द्रको प्रारम्भिक चरणमा अनुमानित ५०० जनशक्तिले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गर्न सकिन्छ भने अनुमानित २५००० जनशक्तिले अप्रत्यक्ष रुपमा सुरक्षण मुद्रण सम्बन्धी सेवा प्रवाह गर्ने कार्यमा संलग्न अन्य सरोकारवाला संस्थामा रोजगारी पाउने सम्भावना देखिन्छ ।
  • सुरक्षण मुद्रण केन्द्रले कार्य संचालन गरेपश्चात सुरक्षण मुद्रणको कार्यमा विदेशी कम्पनीमा खर्च व्यहोरेको अनुमानित ने.रु १० अर्व स्वदेशमा लगानीहुने देखिन्छ भने सुुरक्षण मुद्रण सम्बन्धी सेवा र वस्तु विदेशी बजारमा उपलब्ध गराए वापत थप ने.रु १० अर्व रुपैया राष्ट्रिय ढुकुटीमा संकलन हुने अपेक्षा गर्न सकिन्छ ।
  • सुरक्षण मुद्रण केन्द्रको सफलताले राष्ट्रिय अर्थतन्त्रमा आत्मविश्वास जागृत गर्नेछ ।
  • नेपाल विदेशी पर्यटकहरुको एक गन्तव्य स्थल भएकाले, सुरक्षण मुद्रणको कार्य संचालनले अप्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा सानो दरमानै भएपनि योगदान पुग्नेछ ।

समस्या र चुनौतीहरु

  • सबै क्षेत्रका जनता र प्रतिनीधिहरुलाई सुरक्षण मुद्रणको बारेमा आवश्यक जानकारी गराउन नागरीक समाजका प्रतिनिधीहरु, राजनैतिक पार्टीका प्रतिनिधीहरु, प्रेसमिडियाका प्रतिनिधीहरु, उपभोक्ता संघ एवं संस्थाका प्रतिनिधीहरु, अन्य सरोकारवाला आवश्यक संस्थाका व्यक्ति एवं प्रतिनिधीलाई सुरक्षण मुद्रणकोे महत्वका बारेमा प्रचारमुखी एवं बहस पैरवीका कार्यक्रमहरु संचालन गरिनेछ ।
  • सुरक्षण मुद्रणका विकास सम्बन्धी सवै कार्यक्रमहरु लाई अविच्छिन्न रुपमा कार्यान्वयन गर्नका निम्ति नेपाल सरकारको उच्च नेतृत्वमा रहनु भएका पदाधिकारी एवं उच्च संस्थागत निकाय दुबैबाट औपचारिक रुपमा उच्चस्तरिय प्रतिवद्दता अभिव्यक्त हुने उपयुक्त वातावरण सृजना गरिनेछ ।
  • सुरक्षण मुद्रण अतिनै संवेदनशील र प्रविधि केन्द्रित व्यवसाय हो । यस्का लागी आवश्यक मात्रामा इमान्दार र शीपयुक्त जनशक्तिको आवश्यकता पर्दछ । मुलुकमा कतिपय प्राविधिक जनशक्ति अभाव रहेको स्थिती छ । अहिले सुरक्षण मुद्रण केन्द्र प्रारम्भिक चरणमा रहेकाले, सामान्य प्रशासन मंन्त्रालयको समन्वयमा केन्द्रले कतिपय जनशक्ति नेपाल सरकारका अन्य प्राविधिक सेवाबाट केही अवधीका लागी काजमा खटाउनु पर्ने अवस्था रहेको छ भने केही प्राविधिक जनशक्तिको सेवा करारमा लिनुपर्ने अवस्था देखिन्छ । यसरी लिइएको छोटो समयको जनशक्तिका लागी छोटो अवधीकै भएपनि कार्यगत तालिम र व्यवहारिक अभिमुखिकरण कार्यक्रम संलग्न गर्नुपर्छ । तर लामो समयका लागी भर्ना गरिने कर्मचारीहरुको संख्या र सेवाको किसीम भने संगठन विकास अध्ययन समुहको प्रतिवेदनका आधारमा तय गरी त्यस्ता कर्मचारीको लागी केन्द्रको विभिन्न मुद्रण यूनिटहरुको कार्य प्रकृतिका आधारमा उपयुक्त अवधीका तालिम तथा विकास कार्यक्रमहरु संचालन गर्नका निमित्त एक थप मानव संसाधन विकास कार्यक्रम तर्जुमा गर्नु पर्ने हुन्छ । कर्मचारीका लागी Career Progression Plan (वृति विकास योजना ) अर्को महत्वपूर्ण आवश्यकताको रुपमा रहेको देखिन्छ ।
  • सुरक्षण मुद्रणको प्रारम्भिक कार्य विना अवरोध संचालनका लागी एक वा दुई विदेशी कम्पनी सँग सुमधुर समझदारी र उपयूक्त समन्वय पनि अति आवश्यक विषयको रुपमा रहेको छ ।
कृष्ण बहादुर राउत
अध्यक्ष, सुरक्षण मुद्रण विकास समिति एवं सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
.
कार्यकारी निर्देशक, सुरक्षण मुद्रण केन्द्र